नेपाललाई समृद्ध बनाउने आधार तयार हुँदै गएको छ : अध्यक्ष दाहाल



गोरखा,फागुन ९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिका-१०, मिरकोटमा बिहीबारदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव-२०८१ को उद्घाटन गर्दै उनले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न योजनाबद्ध पहल थालिएको बताए ।

उनले देशमा कृषि क्षेत्रमार्फत रोजगारीका थुप्रै सम्भावना हुँदाहुँदै पनि गाउँहरू बिस्तारै युवाविहीन हुँदै जानु,  खेतीयोग्य जमिन बाँझो हुँदै जानु डरलाग्दो अवस्था भएकोले सवै पक्ष गम्भीर हुनुपर्ने बेला आएको उल्लेख गरे ।

आम जनताले आफ्ना छोराछोरीलाई विदेश होइन, आफ्नै माटोमा केन्द्रीत गर्ने गरी सोच्ने बेला आएको उनले बताए ।

आफुले सरकारको नेतृत्व गर्दा महत्त्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादी बाटोमा अघि बढाउन सफल भएको भन्दै उनले स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा  परिवर्तन सम्भव छ भन्ने उदाहरण दिनसक्ने गरी  धेरै क्षेत्रमा सुधारको थालनी गरेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्