माओवादी केन्द्रले फागुन १२ गतेदेखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने 



काठमाडौ,फागुन ९ । नेकपा माओवादी केन्द्रले जनतासँगको सम्बन्ध सुधारका लागि यही फागुन १२ गतेदेखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ । 

माओवादी केन्द्रले शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी हुलाकी मार्गलाई आधार बनाएर तराई मधेश जागरण अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । 

झापाबाट सुरु हुने जागरण अभियान तराई–मधेशका समस्यामा केन्द्रित हुने र  चैत्र ८ गते कञ्चनपुर पुगेर समाप्त हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

यस्तै, माओवादी केन्द्रले तराई–मधेश केन्द्रित पहिलो चरणको अभियान सम्पन्न भएपछि दोस्रो चरणमा मध्य–पहाडी लोकमार्गलाई आधार बनाएर हिमाल र पहाड जोड्ने अभियान सञ्चालन गर्ने उपाध्यक्ष सापकोटाले बताए । 

पत्रकार सम्मेलनमा पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले सरकार अहिले अध्यादेशको पासोमा परेका कारण संसद्का कामकारबाही प्रभावकारी हुन नसकेको टिप्पणी समेत गरे । 

प्रतिक्रिया दिनुहोस्