पूर्वराजालाई प्रचण्डको चेतावनीः इतिहासको चक्का पछाडि फर्किन्छ भनेर नसोच्नु

काठमाडौ,फागुन २३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजसंस्थाको कुनै गुञ्जायस नरहेको बताएका छन् । बिहीबार पत्रकार एक सञ्चारमाध्यमसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले राजसंस्था फर्काउने दुस्साहस कुनै पनि हालतमा सफल नहुने बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्रले पार्टी खोलेर चुनाव लड्दामात्रै पनि झन ठूलो मूल्य चुकाउनुपर्ने बताए । अब जनताले निरङ्कुश राजतन्त्रलाई नमान्ने उनको चेतावनी छ ।
‘इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस कुनै हालतमा सफल हुँदैन । त्यो मुर्खता हो । अहिले धेरै नेताहरुले भनेको मैले सुनिराखेको छु– पूर्वराजा नागरिक भइसकेका छन्, नागकिकको रुपमा पार्टी खोलेर चुनाव लडे हुन्छ । त्यो मुर्खता उनले गरे भने त्यसको मूल्य झन ठूलो चुकाउनुपर्ने अवस्था आउँछ । जनता मान्नेवाला छैनन् । त्यो कुरा बुझे हुन्छ,’– उनले भने ।
साथै, प्रचण्डको पूर्वराजासँग उठीबसी रहेको भनी केही तत्वहरुले भ्रम फैलाएको पनि उनले बताए । त्यसरी फैलाइएको भ्रमलाई जनताले नपत्याउने पनि प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रले पहिला पनि पटक–पटक मुर्खता देखाइसकेको बताउँदै अब उक्त गल्ती नदोहोर्याउने सुझाव दिए । ‘अहिले केही मान्छेहरुले इतिहास फर्किन्छ भन्ने सोच्नु त्यो भन्दा मुर्खता केही पनि हुँदैन । यो भन्दा अगाडि पनि ज्ञानेन्द्रले धेरै मुर्खता गरिसकेका छन् । फेरि अहिले त्यो काम नगरून् । मेरो सुझाव यही हो,’– उनले भने ।