ललितपुरमा महिला उद्यमी मेला



पाटन,फागुन २४ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ललितपुरमा दुई दिने महिला उद्यमी मेला सुरु भएको छ ।

मङ्गलबजारस्थित हौगल टोलमा ललितपुर महानगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको उद्यमी मेलाको उद्घाटन महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यले गरेका हुन् । 

मेलामा महिलाको उद्यमशीलतामा उत्पादन भएका हस्तकलाका सामान, ढाकाका लत्ताकपडा, नेवारी खानाका परिकार, अचार, साबुनलगायत वस्तु बिक्रीमा राखिएका छन् ।

महानगरका कार्यवाहक प्रमुख बज्राचार्यले अहिलेको आधुनिक समयमा हरेक महिला श्रमका माध्यमबाट सक्षम र सशक्तीकरणमा सफल हुनुपर्नेमा जोड दिइन । “अब महिलाले समान अधिकारको कुरा गर्ने मात्रै होइन, सबै महिला उद्यमी र आत्मनिर्भर हुन सक्नुपर्छ, आफू सक्षम भए अधिकार भनेर माग्नु पर्दैन, हामी पनि सक्षम छौँ भनेर देखाउनुपर्छ, आफूभित्र भएको क्षमता र गुणलाई चिनेर सक्षम र सशक्त हुन सक्नुपर्छ ।” 

उनले महिला उद्यमशील विकास गर्दै पाँच वर्षभित्र सबै महिलालाई उद्यमी बनाउने सोच महानगरको रहेको जानकारी गराए । महानगरपालिकाका प्रवक्ता, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले महानगरभित्र चार सय ७० महिला समूह रहेको जानकारी गराउँदै हरेक वडाले महिला उद्यमशीलताका लागि बजेट विनियोजन गरिरहेको बताए । 

उनले वडास्तरीय महिला सञ्जालले गरेका कामले आर्थिक सबलीकरण र उद्यमशीलता प्रवद्र्धनका लागि प्रशंसनीय काम हुँदै आएको जानकारी गराइन । 

वडा नं १९ मा अध्यक्ष राजेन्द्र महर्जनले नेपालको इतिहासमा महिलालाई शक्तिका रुपमा पुज्ने सभ्यता रहेको स्मरण गर्दै महिलाविनाको संसारको परिकल्पना हुन नसक्ने बताए । 

जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरका सहन्यायाधिवक्ता ममता श्रेष्ठले महिला शिक्षित हुँदा सबै परिवार शिक्षित हुने भन्दै अधिकार, समानता र सशक्तीकरणको कुरा गर्दा शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिइन । 

नेपाल घरेलु तथा साना उद्यमी महासङ्घ महानगर समितिका संयोजक शैलेन्द्र श्रेष्ठले उद्यमशीलता विकासमा महिलालाई उत्प्रेरित गर्न महानगरलाई आग्रह गर्दै साना उद्यमीको हितमा महासङ्घ लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले महिलालाई उच्च मनोबलका साथ उद्यमशीलतामा लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्