महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छ : सभापति देउवा

ललितपुर,फागुन २४ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताएका छन् ।
११५औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपाली महिलाहरूको आह्वान: समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै हैन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गरे ।
“हरेक पालिकामा मात्रै हैन राज्यको हरेक निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने व्यवस्था गरिएको छ । यहाँ महिलाहरूले देशकै नेतृत्व गरेको अवस्था छ, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,” सभापति देउवाले भने,“अब थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै मिलेर नेतृत्वदायी भूमिकामा अग्रसर हुने विश्वास लिएको छु ।”
पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बनाइएका कानुन कार्यान्वयन गर्दै राज्य र पार्टीका हरेक तहमा महिलाको निर्णायक सहभागिता सुनिश्चित गर्न लाग्नुपर्नेमा जोड दिए । उनले क्षेत्रगत रूपमा विभाजन नभई समग्रतामा केन्द्रित भएर निर्णायक तहमा पुग्न ध्यान दिनुपर्ने बताए । पार्टी सभापति देउवा प्रधानमन्त्री हुँदा महिला, दलित र सीमान्तकृत समुदायको हक अधिकार स्थापित गर्नका लागि उल्लेख्य काम भएको उनको भनाइ थियो ।
कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको टोल र वडा तह तथा सामाजिक क्षेत्रका हरेक ठाउँमा महिलाको सहभागितालाई जोड दिनुपर्ने बताए । महिलालाई आयमूलक काममा सहभागी गराउँदै शिक्षा र स्वास्थ्यमा सशक्त भूमिकामा स्थापित गर्नुपर्ने धारणा राख्दै उनले पार्टीले त्यसका लागि थप भूमिका खेल्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अधिकार, समानता र सशक्तीकरणमा नेपालमा धेरै काम भए पनि अझै पर्याप्त नभएको बताइन । “महिलाका कतिपय अधिकार स्थापित भए पनि अझै तिनको उपयोग गर्न सकिएको छैन, हामीले आफूलाई सक्षम बनाउन सकेका छौँ कि छैनौँ भनेर पनि ध्यान दिनुपर्छ”, उनले भने,“म महिला हैन नेता भएकाले यो स्थानमा पुगेको छु, हरेक महिलाले आफूलाई पुरुषभन्दा कम नसोच्न मेरो आग्रह छ । समाज, समुदाय र देशमा अधिकार कसैले दिएर हुने कुरा हैन, आफूले पनि सशक्त भएर आउनुपर्छ ।”