काठमाडौँ उपत्यकामा छिटपुट वर्षा



काठमाडौ,फागुन २५ । काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा छिटपुट वर्षा भएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मोरङमा १४ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । झापाको बाहुनडाँगीलगायत स्थानमा सात दशमलव चार, इलाममा सात दशमलव चार, खोटाङमा तीन, दोलखामा एक दशमलव दुई, सोलुखुम्बुमा एक दशमलव तीन, सिन्धुपाल्चोकमा एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

काठमाडौँ उपत्यकामा शनिबार साँझ छिटपुट वर्षा हुँदा चिसो बढेको छ । महाखाशाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

वर्षाको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्