सम्पूर्ण लोकतन्त्रवादी, गणतन्त्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

धनगढी,फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, भ्रष्ट्राचार नियन्त्रण, आर्थिक समृद्धि, सुशासन र जनतालाई डेलिभरी दिने कामलाई प्राथमिकता दिएर सरकार अघि बढिरहेको बताएका छन् ।
धनगढीमा सुदूरपश्चिम प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनैतिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि हासिल गर्नका लागि वर्तमान सरकार गठन भएको बताए ।
उनले ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन सरकार २०८४ सालको आम निर्वाचनसम्मै जाने तथा अबको १६ महिना आफू प्रधानमन्त्री र त्यसपछि काँग्रेस सभापति, संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।
प्रधानमन्त्री ओलीले पूर्व राजाले संविधान, कानुन, लोकतन्त्र, विधिका कुरा नगर्ने गरेको बताए । प्रधानमन्त्री ओलीले जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त संविधानको रक्षा तथा राष्ट्रिय एकता र हितलाई बलियो बनाउन सम्पूर्ण लोकतन्त्रवादी, गणतन्त्रवादी शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना, धनगढीमा आधुनिक रंगशाला निमार्ण गरिने बताए । प्रधानमन्त्री ओलीले समृद्ध र उन्नत सुदूरपश्चिम प्रदेश निर्माण गरि जनतालाई रोजगारी, विकास र समृद्धि हासिल गर्न सरकार कटिबद्ध रहेको बताए ।