नुन लिन नागरिकता अनिवार्य



हुम्ला,फागुन २७ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्न सर्वसाधारणले अनिवार्य रूपमा नागरिकता पेस गर्नुपर्ने भएको छ । लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मङ्गलबार बिक्री हुने नुनका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने निर्णय गरेपछि नुन किन्न नागरिकता पेस गर्नुपर्ने भएको हो । 

सिमकोट गाउँपालिका–७ का कृष्णबहादुर शाहीले नुन खरिद गर्न अनिवार्य रूपमा नेपाली नागरिकताको प्रतिलिपि पेस गर्नु परेको बताए । अघिल्लो हप्ता तीन घण्टा पैदल हिँडेर नुन लिन सदरमुकामस्थित लिमिटेडको गोदाममा आएका शाहीले घरबाट नागरिकता नलगेका कारण नुन लिन पाएका थिएनन् । नागरिकता नभईकन नुन दिन नसकिने कर्मचारीले बताएपछि उनी खाली हात घर फर्कनु परेको थियो । नुन लिन नागरिकता पेस गर्नुपर्ने नियम अन्त्य हुनुपर्ने बताउँदै उनले यसबाट सर्वसाधारणको अतिरिक्त खर्च हुने गरेको गुनासो गरे । 

नागरिकताको फोटोकपी गर्दा १० रुपियाँ लाग्ने गर्छ । लिमिटेडका हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले नुन लिने व्यक्ति नदोहोरिऊन् भनेर नागरिकताको प्रतिलिपि लिने गरिएको बताए । नुन सीमित आउने भएकाले कोही नदोहोरिऊन् र कोही नछुटुन् भनी यो नियम लगाइएको उनले प्रस्ट्याए । वडाले सिफारिस गर्दा पनि हुने तर वडाध्यक्ष आवश्यक परेको बेला नभएको अवस्थामा पनि नुन वितरण गर्न नागरिकताको फोटोकपी पेस गर्ने गरिएको उनले बताए । 

यसरी नागरिकताको प्रतिलिपि पेस गरेपछि एक जनालाई १० केजी नुन बिक्री गर्ने गरिएको छ । हाल लिमिटेडको गोदाममा एक हजार ३९५ क्विन्टल नुन मौज्दात छ । यो आर्थिक वर्षको एक हजार एक सय क्विन्टल नुनमा हालसम्म हवाईमार्गबाट ५८२ क्विन्टल ढुवानी भइसकेको र बाँकी पनि ढुवानीको चरणमा रहेका कारण जिल्लामा नुनको समस्या नहुने लिमिटेडले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्