गोरखा आरुघाट गाउँपालिकाका उत्कृष्ट ६ किसान सम्मानित



गोरखा,फागुन २८ । गोरखाको आरुघाट गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट कृषि र पशुपालक किसानलाई प्रोत्सहन स्वरुप नगदसहित सम्मान गरेको छ । गाउँसभाको सोह्रौ अधिवेशनमा उत्कृष्ट किसान छनोट गरी नगद १५ हजारसहित सम्मानपत्रका साथ सम्मान गरिएको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले किसानलाई उत्पादनको आधारमा विभिन्न क्राईटेरिया छुट्याइ किसानको मनोबल उच्च बनाउनका लागि सम्मान गरिएको छ । माछा पालन गर्ने आरुघाट – १० का सन्दिप श्रेष्ठ, बाख्रा पालन गर्ने आरुघाट – ३ का सेते खत्री र कुखुरापालन गर्ने आरुघाट – १० का गीता श्रेष्ठलाई उत्कृष्ट किसान छनोट गरी सम्मान गरिएको पशु सेवा शाखा प्रमुख ईन्द्रहरि खनालले बताए । 

त्यस्तै, मसलाबालीतर्फ अलैची खेती गर्दै आएका आरुघाट – २ का रामबहादुर गुरुङ, फलफुल खेती केराखेती गर्दै आएका आरुघाट – १ का बीरबहादुर लामा र तरकारी खेती गर्ने अरुघाट – ७ का गोपाल बाँनियालाई सम्मान गरिएको  गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष राजु गुरुङले पालिका भित्र उत्पादन बढाएर किसानको आयआर्जनमा गाउँपालिकाले सक्दो भूमिका निर्वाह गरी किसानलाई उत्पादनको आधारमा सहयोग र अनुदानको व्यवस्था गर्न गाउँपालिका लागि परेको बताए । 

उनका अनुसार पालिकाले आगमी बजेटबाट कृषि र पशुपालका लागि आवश्यक बजेट विनियोजन गरी पालिकामा तरकारी, माछा, मासुमा आत्मनिर्भर हुने गरी गाउँपालिकाले योजना बनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्