नुवाकोटमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह



नुवाकोट, असार १८। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मिति यही असार १८ मा जारी बुलेटिनको आधारमा नुवाकोट जिल्लामा असार १८ देखि असार २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय, नुवाकोटले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको हस्ताक्षरसहित जारी सूचनामा भनिएको छ कि भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो जस्ता विपद् आउने खतरा रहेको छ। नदी, खोलानाला तथा पहिरो जाने स्थानहरूमा उच्च जोखिम रहेको हुँदा त्यस्ता स्थानको नजिक नजान तथा सतर्क रहन जनतालाई अनुरोध गरिएको छ।

साथै, बुलेटिनअनुसार दैनिक जनजीवन प्रभावित हुन सक्ने सम्भावनासमेत रहेकोले सावधानीपूर्वक यात्रा गर्न, मौसमसम्बन्धी जानकारी लिएर मात्र सवारीसाधन चलाउन तथा सकेसम्म रातको समयमा यात्रा नगर्न पनि अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले स्थानीयवासीलाई सतर्कता अपनाई सुरक्षित रहन अपिल गर्दै संभावित जोखिम न्यूनिकरणमा सबैको सहयोग अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्