काठमाडौं जिल्ला अदालतमा उपस्थित भए पत्रकार पाठक

काठमाडौं,असार १९ । साइबर अपराधको मुद्दाको सामना गर्न पत्रकार दिल भूषण पाठक काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
पाठकविरुद्ध प्रहरीले यही असार १६ गते साइबर अपराध गरेको आरोपमा मुद्दा दायर गरेको थियो । अदालतमा उपस्थित भएपछि पाठकसँग बयान हुने छ । त्यस लगत्तै आजै थुनछेक बहस हुने छ ।
पाठकले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले मुद्दा दायर गरेको थियो ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरी प्रहरीले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।