बागमती प्रदेशको बजेट सच्याउनुपर्ने प्रमुख प्रतिपक्ष दलको माग

हेटौंडा, असार १९। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सच्याउनुपर्ने माग गरेका छन्।
बिहीवार बसेको प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेता जम्मकट्टेलले हालसम्मकै कमजोर आधारमा बजेट प्रस्तुत गरिएको आरोप लगाए। “यो बजेट सच्याउनुपर्छ। यो बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति विश्वास जगाउनुपर्छ,” उनले भने, “त्यसकारण हामी सरकारको धारणा सुन्न चाहन्छौँ।”
उनले दलहरूबीच भएको अघिल्लो प्रतिबद्धता पूरा नगरेसम्म सदन सञ्चालन गर्न नदिने चेतावनीसमेत दिए।
बजेटमाथिको विवादका कारण पटक–पटक स्थगित हुँदै आएको प्रदेशसभा बैठक बिहीवार सभामुख भुवनकुमार पाठकको संयोजनमा बसेको सर्वदलीय बैठकपश्चात् सुरु भएको हो। बैठकमा सत्तारूढ दल नेपाली कांग्रेस, एमाले, राप्रपा, एकीकृत समाजवादीलगायत माओवादी केन्द्र सहभागी थिए।
नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्न ढकालका अनुसार बैठकमा बजेटमा भएका त्रुटिहरू सच्याउने र टुक्रे योजनाहरू व्यवस्थित गर्ने सहमति भएको छ।
यसअघि बिहान ११ बजे बोलाइएको बैठक २ बजे सारिएको थियो। २ बजे पनि बैठक नबसी सूचना टाँसेर साँझ ५ बजेका लागि सारिएको थियो। गत असार १२ गतेदेखि बजेटमाथिको विवादका कारण प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको छ।