मध्यपहाडी सडक सुधारका लागि नुवाकोटमा दैनिक तीन घण्टा सडक बन्द



नुवाकोट, असार १९। मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको लिखु गाउँपालिका–१ स्थित गंगटे–ढिकुरे शेरा सडकखण्डमा सुधार तथा स्तरोन्नतीका लागि दैनिक तीन घण्टा सडक बन्द गरिएको छ।

लिखु गाउँपालिका–१ वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यहि असार १८ गतेदेखि २२ गते आइतवारसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सम्पूर्ण सवारी साधनको आवागमनमा रोक लगाइएको जानकारी दिएको हो।

वडाध्यक्ष नरहरी पाण्डेका अनुसार सो सडकखण्डमा कटान तथा चौडाई गर्ने काम भइरहेकाले सुरक्षाका दृष्टिले अस्थायी रुपमा यातायात बन्द गरिएको हो। साथै, आम सर्वसाधारण, यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ।

सुधार कार्य भइरहेको यो सडक खण्ड मध्यपहाडी लोकमार्गको एक महत्वपूर्ण भाग हो, जुन बहुचर्चित र बहुप्रतिक्षित योजनाका रूपमा चिनिन्छ।

प्रतिक्रिया दिनुहोस्