पुल भाँचिँदा काभ्रे–भक्तपुर वैकल्पिक मार्ग अवरुद्ध

काभ्रे, असार २१ । काभ्रेपलाञ्चोकको बनेपा–भक्तपुर सीमा क्षेत्रको नाला–च्यामासिङ सडकखण्डमा रहेको पुल भाँचिएपछि वैकल्पिक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वि.सं. २०३७ मा निर्माण भएको पुल शनिबार राति मालबाहक गाडी पार भएपछि भाँचिएको हो । यससँगै काभ्रे हुँदै राजधानी प्रवेश गर्ने र बाहिरिने सवारी आवागमन ठप्प भएको छ ।
अरनिको राजमार्ग विस्तारकै कारण वैकल्पिक रूपमा प्रयोग हुँदै आएको सो सडकखण्डमा सवारी नपठाउन ट्राफिक कार्यालय बनेपाले आग्रह गरेको छ । बनेपाबाट काठमाडौँतर्फ जाने सवारी रोकिएको छ ।
सडक विभाग र स्थानीय तहसँग समन्वय गरी अस्थायी सञ्चालनको पहल भइरहेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले जानकारी दिए ।