नुवाकोटमा इभी गाडी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु

नुवाकोट, असार २१ । नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा शनिबार बिहान भएको सवारी दुर्घटनामा घाइते एक युवकको ज्यान गएको छ।
गल्छी–त्रिशुली सडकखण्डमा बिहान ११:४० बजे बा ९३ प १८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा.प्र. ०६–००१ ज ०१३८ नम्बरको इभी यात्रुबाहक गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक विदुर–१ का अन्दाजी २० वर्षीय सोहन श्रेष्ठ (रोनिश श्रेष्ठ) गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल त्रिशुली अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएकोमा दिउँसो ३:१० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।