“हिजोको हिलो, आजको कालोपत्रे” — नुवाकोट तादीको बाटोले भेट्यो विकासको गति



• भरतसन्तोषी लामा

नुवाकोट,असार २३ – साँघुरो उकालो, गहिरो खोंच र वर्षा लागेपछि हिलोले ढाकिएको बाटो। तादी गाउँपालिका–४ का स्थानीयले दशकौँदेखि यही बाटो भएर यात्रा गर्दै आएका थिए। तर अब त्यो कष्टकर यात्रा भइसकेको छ। गाउँलेको सपना बनेको सडक अहिले कालोपत्रे भएर गाउँको रूप नै बदलिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा स्थानीय सरकारको पहलमा सातबिसे बजार हुँदै बाघमारा जोड्ने करिब २ किलोमिटर सडकमा कालोपत्रे गरिएको हो। सडक कालोपत्रे भएपछि अब पैदलयात्रीदेखि सवारी साधन चलाउने सबैका लागि यात्रा सहज र सुरक्षित बनेको छ। गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ भन्छन्, “स्थानीय सरकारले गरेको काम यही हो। जनताले प्रत्यक्ष महसुस गर्न सक्ने खालको विकास प्राथमिकतामा राखेका छौं।”

कालोपत्रे भएपछि गाउँमा विकासले गति लिएको महसुस भइरहेको छ। स्थानीयहरू भन्छन्, अब बजार जान, विद्यालय पुग्न वा बिरामी बोकेर अस्पताल पुर्‍याउन अलि सहज भएको छ। हिजो हिलोमा चिप्लिँदै बग्ने डरले भरिएको बाटोमा आज पक्की सडक बिछ्यिएको छ।

अध्यक्ष तामाङका अनुसार खरानीटार–रिमालडाँडा–डाँडागाउँ हुँदै राहुचुली जोड्ने अर्को सडक पनि कालोपत्रे चरणमा रहेको छ। “यो सुरुआत मात्र हो, गाउँभित्रका अरू प्राथमिक सडकहरू पनि कालोपत्रे गरेर जोड्ने हाम्रो लक्ष्य छ,” उनले भने ।

सडक पिच हुँदा केवल यातायात सहज मात्र भएको छैन, स्थानीयको आत्मविश्वास पनि बढेको छ। अब गाउँमा विकासको पाइला स्थायी बन्न थालेको महसुस भएको छ । गाउँमा फर्कन चाहने युवाहरू, कृषिमा लगानी गर्न चाहने कृषकहरू र पर्यटनको सम्भावना देख्ने स्थानीय उद्यमीहरू सबैका लागि यो सडक अब परिवर्तनको ढोका बन्नसक्छ ।

कालोपत्रेले गाउँमा पहिलोपटक भौतिक पूर्वाधारको उपस्थिति मात्र देखाएको छैन, उसले भविष्यमा अझ धेरै सम्भावनाहरू ल्याउने आशा पनि बोकेको छ। गाउँको अनुहार फेरिएको छ—यात्रा सहज छ, सपना नजिक छ।

प्रतिक्रिया दिनुहोस्