नुवाकोटको विदुर–६ मा ६ सय घरधुरीलाई विद्युतीय चुलो वितरण



नुवाकोट, असार २७ । दाउरा र ग्यासको खपत घटाउँदै वातावरण संरक्षण गर्ने उद्देश्यसहित नुवाकोटको विदुर नगरपालिका–६ का ६ सय घरपरिवारलाई विद्युतीय चुलो वितरण गरिएको छ।

विदुर नगरपालिका वडा नं. ६ कार्यालयको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदान सहयोगमा चुलो वितरण गरिएको हो। वडाध्यक्ष श्यामकृष्ण चालिसेले चुलो वितरणबाट दाउरा र ग्यासको साटो वातावरणमैत्री ऊर्जा प्रयोगलाई प्रोत्साहन दिने उद्देश्य रहेको बताए।

“आजभोलि धेरैले ग्यास प्रयोग गर्न थालेका छन्, जसका कारण विदेशी मुद्रा बाहिरिनु परेको छ,” वडाध्यक्ष चालिसेले भने, “विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महसुल तिर्नुपरे पनि पैसा देशमै रहन्छ, जुन दीर्घकालीन रूपमा फाइदाजनक छ।”

वडाध्यक्ष चालिसेले वडा कार्यालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा चुलो वितरण गरिएको जानकारी दिँदै छुट भएका परिवारहरूलाई आगामी चरणमा समेटिने स्पष्ट पारे।

चुलो वितरणमा ३० प्रतिशत लागत उपभोक्ताले व्यहोरेका छन्। प्रत्येक चुलोका लागि उपभोक्ताबाट एक हजार एक सय पच्चीस रूपैयाँ संकलन गरिएको हो।

वडा सदस्य रामचन्द्र पौडेलले दाउराको सट्टामा विद्युतीय चुलो प्रयोग बढाउँदा वातावरण संरक्षणमा समेत टेवा पुग्ने बताए।

वडा सचिव ठाकुर केसीका अनुसार बिहीबार र शुक्रबार गरी ६ सय घरधुरीलाई चुलो वितरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्