दार्चुलामा तुइन तर्ने क्रममा एक जना महाकालीमा बेपत्ता



दार्चुला,असार ३१ — तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर दार्चुलाको ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइन तर्दै गर्दा डोरी चुडिएर बुढाथोकी नदीमा खसेका हुन्। उनीसँगै तुइन तर्ने क्रममा रहेका अन्य दुई जना भने सकुशल रहेका छन्।

घटना मध्यान्ह १२ बजेतिरको हो। हाल बेपत्ता युवाको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। दुम्लिङ्ग–गर्भाधार क्षेत्रमा अवैध रूपमा तुइन प्रयोग हुँदै आएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्