बागमती प्रदेशका १० जिल्लामा १२० सिसिटिभी क्यामेरा सञ्चालनमा
हेटौँडा,असार ३१ — बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा एक सय २० वटा सिसिटिभी क्यामेरा जडान गरी मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा प्रदेश प्रहरी कार्यालयमार्फत दुई करोड ८४ लाख रुपैयाँको लागतमा जडान गरिएका क्यामेराको उद्घाटन हेटौँडामा प्रदेश मन्त्री सुरजचन्द्र लामिछानेले गरे। उनले सार्वजनिक सुरक्षालाई प्रविधिसँग जोड्न यो पहल प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण पौडेलका अनुसार सुरक्षा चुनौती बढ्दै गएकाले प्रविधिको प्रयोग अपरिहार्य छ। आगामी वर्ष थप १०० क्यामेरा जडानको तयारी गरिएको पनि उहाँले जानकारी दिए ।
चितवन, सिन्धुली र मकवानपुरमा अत्याधुनिक एएनपीआर र रडार प्रणालीसहितका क्यामेरा जडान गरिएको छ। ९० दिनसम्मको डाटा भण्डारण क्षमतासहित, पावर ब्याकअपसहितका क्यामेराहरू ३८ युनिटबाट निगरानी गरिनेछ।

