मकवानपुरमा निर्वाचनको तयारी : ३ हजार बढी कर्मचारी र ४ हजार सुरक्षाकर्मी परिचालन
मकवानपुर,फागुन १ । मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडाले विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिका पुनः प्रयोगमा ल्याउने तयारी गरेको छ। प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मतपेटिकाको सफाइ, मर्मत तथा प्राविधिक परीक्षणको कार्य अन्तिम चरणमा पुगेको छ।
कार्यालय परिसरमा कर्मचारीहरू पुराना मतपेटिका धुने, सुकाउने, आवश्यक भाग मर्मत गर्ने तथा ताला–सिल परीक्षण गर्ने कार्यमा व्यस्त छन्। स्रोतसाधनको अधिकतम सदुपयोग र खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै पुनः प्रयोगयोग्य सामग्रीलाई प्राथमिकता दिइएको ढकालले बताउनुभयो। प्राविधिक रूपमा उपयुक्त मतपेटिका पुनः प्रयोग गर्दा लागत घट्ने मात्र होइन, वातावरणीय रूपमा पनि सकारात्मक सन्देश जाने उहाँको भनाइ छ।
एक मतदान केन्द्रमा कम्तीमा ५२ प्रकारका सामग्री आवश्यक पर्ने भएकाले केन्द्रअनुसार छुट्टाछुट्टै प्याकेजिङ गरी सूचीबद्ध रूपमा तयारी भइरहेको छ। प्रत्यक्षतर्फ ४३ लिटर र समानुपातिकतर्फ ८५ लिटर क्षमताका दुई मतपेटिका प्रत्येक केन्द्रमा पठाइनेछन् भने एक जगेडासहित तीनवटा मतपेटिका व्यवस्था गरिएको छ। आवश्यक मतपत्र, नामावली, छाप, सिल, ट्याग, गोपनीयता पर्दालगायत सामग्रीको तयारी अन्तिम चरणमा पुगेको छ।
आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको छ भने हालसम्म कुनै गम्भीर उजुरी नआएको निर्वाचन कार्यालयले जनाएको छ। राजनीतिक दल र उम्मेदवारका गतिविधिमाथि विशेष निगरानी राखिएको छ। उल्लङ्घन भए तत्काल कारबाही गर्ने संयन्त्र सक्रिय अवस्थामा रहेको बताइएको छ।
मकवानपुरका १७६ मतदानस्थलअन्तर्गत ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित तीन हजार ३६६ कर्मचारी परिचालन गरिनेछन्। प्रत्येक केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृतसहित आयोगबाट छ जना कर्मचारी खटाइनेछन् भने तीन जना स्वयंसेवक रहने व्यवस्था छ।
निर्वाचनलाई सुरक्षित बनाउन करिब चार हजार २०० सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिनेछ। जिल्लाका १६७ मतदानस्थलमध्ये १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन्। आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

