जलजलाका १८ शवदाहस्थल एकैपटक व्यवस्थित गरिँदै



पर्वत,फागुन १ । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकैपटक व्यवस्थित बनाउन पूर्वाधार निर्माण सुरु गरेको छ। सङ्घीय सरकारसँग लागत साझेदारीमा १८ स्थानका शवदाहस्थलमा आवश्यक संरचना निर्माण गरी व्यवस्थापन गर्न लागिएको हो।

जलजलाका अधिकांश शवदाहस्थल कालीगण्डकी नदी किनारमा अवस्थित छन्। लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्तीको माथिल्लो क्षेत्रका घाटसमेत योजनामा समेटिएका छन्। दुई करोड ५८ लाख रुपैयाँमा जेआरएस इन्जिनियरिङ सोलुसन एन्ड कन्ट्रक्सन दाङसँग ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार वर्षा र घाम दुवै अवस्थामा शवदाह गर्न मिल्ने सत्तल, घाटसम्म पुग्ने पदमार्ग, कपडा फेर्ने कोठा, मलामी बस्ने आश्रयस्थल, शौचालय, खानेपानी र विद्युत् सुविधा निर्माण गरिनेछ। घाटमा पूर्वाधार अभावका कारण नागरिकले समस्या भोग्नुपरेको गुनासो आएपछि राष्ट्रिय योजना आयोगमा समपूरक बजेटका लागि प्रस्ताव गरिएको र स्वीकृतिपछि कार्यान्वयन सुरु गरिएको उहाँले बताउनुभयो। चालु आर्थिक वर्षभित्रै योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

व्यवस्थित घाट नहुँदा बर्खामा बाढीले जलाउँदै गरेको शव बगाउने, गर्मीमा चर्को घाम र झरीमा मलामीहरू रुझ्नुपर्ने अवस्था रहेको छ। अब निर्माणपछि ती समस्या समाधान हुने अपेक्षा गरिएको छ। शवदाहस्थल नजिकै हिन्दू संस्कारअनुसार आवश्यक बर र पिपलका बिरुवा रोपिने र संरक्षण समिति गठन गरी समुदायलाई हस्तान्तरण गरिने योजना छ।
जलजला गाउँपालिका–६ शालिजामा यसअघि नै दुईवटा व्यवस्थित घाट निर्माण भई सञ्चालनमा रहेका छन्। नयाँ योजनाअन्तर्गत डमुवाखोला, लस्ती, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत कालीगण्डकी किनारका घाटहरू निर्माण गरिनेछ। गाउँपालिकाले यस कार्यले अन्त्येष्टि संस्कारलाई व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्