काठमाडौँमा ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न ५ र विमानस्थलमा दुःख दिने १८ जना पक्राउ
काठमाडौँ, चैत २१ — काठमाडौँ प्रहरीले ‘अपरेशन सेफ्टी’ सञ्चालन गर्दै उपत्यकाका विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुलाई हैरानी दिने १८ जनालाई पनि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार बौद्ध क्षेत्रमा सक्रिय ‘डिम्पल’ भनिने प्रवीण तामाङसहित अन्य चार जनालाई गुण्डागर्दी आरोपमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कलङ्की–बाफल क्षेत्रका बिर्जु महर्जन, बस टिकट काउन्टर–पेट्रोलपम्प आसपासका सुजन कार्की, स्युचाटार क्षेत्रका सरू हुमागाईं र बौद्धकै बिकी लामा रहेका छन्।
यसैबीच, विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने, जबर्जस्ती होटलमा लैजाने तथा कमिसन लिने कार्यमा संलग्न १८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये केहीले यात्रुसँग दुर्व्यवहारसमेत गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले ‘अपरेशन सेफ्टी’ अन्तर्गत उपत्यकामा शान्ति–सुरक्षा कायम गर्न यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

