अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प, ८ जनाको मृत्यु
काठमाडौँ/एजेन्सी,चैत २१ — अफगानिस्तान मा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्माद का अनुसार भूकम्पको झड्का काबुल प्रान्तमा समेत महसुस गरिएको थियो। त्यहाँ एक घर पूर्ण रूपमा भत्किँदा आठ जनाको ज्यान गएको र एक बालक घाइते भएको जनाइएको छ।
भूकम्पको केन्द्रबिन्दु करिब १८६ किलोमिटर गहिराइमा रहेको र ३६.५५ डिग्री उत्तर अक्षांश तथा ७०.८५ डिग्री पूर्व देशान्तर आसपास रहेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।
गहिरो केन्द्रबिन्दुका कारण व्यापक क्षति कम हुने अनुमान गरिए पनि घर भत्किनु र मानवीय क्षति हुनुले घटनाको गम्भीरता देखाएको छ।
घटनापछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

