जीप घरमा ठोक्किएर दुर्घटना: दुई जनाको मृत्यु, ११ घाइते
गुल्मी, चैत २२ — गुल्मी दरबार गाउँपालिका–४ मिसुकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार वीरबासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप जीप ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको हो। जीप स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किएको थियो।
दुर्घटनामा गुल्मी दरबार–४ वीरबास मिसुकाकी ३५ वर्षीया कृष्णा ढेगा र ४० वर्षीया मिना सनामीको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते ११ जनाको शृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र मा उपचार भइरहेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

