मोटरसाइकलमा आगलागी,एसईई दिएर फर्कदै गरेका तीन विद्यार्थीको जलेर मृत्यु
जलेश्वर,चैत २४— जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत बथनाहा गाउँमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ।
प्रहरीका अनुसार विपरीत दिशाबाट आएका मोटरसाइकल एकडारा गाउँपालिका–५ स्थित बथनाहामा ठोक्किँदा दुवै सवारीसाधनमा आगलागी भएको हो। घटनामा तीन विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
मृतकहरू एसईई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि, मृतक तथा घाइतेहरूको नाम, थर र ठेगाना हालसम्म खुलेको छैन। आगलागीका कारण मोटरसाइकल पूर्ण रूपमा जलेका छन् र नम्बर प्लेटसमेत नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

