रसुवा बाढीअघि लाङटाङ लिरुङको भिरमा ४० सेन्टिमिटरसम्म भूविस्थापन भएको अध्ययनको निष्कर्ष



काठमाडौँ, असोज २८ । गत भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा विनाशकारी बाढी आउनुअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भूविस्थापन भएको पाइएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

अध्ययनअनुसार सन् २०२६ जुलाई ७ देखि अगस्ट २४ सम्मको ४८ दिनमा ‘सेन्टिनेल–१’ भूउपग्रहबाट प्राप्त राडार तथ्याङ्क विश्लेषण गर्दा उक्त क्षेत्रको सतहमा ४० सेन्टिमिटरसम्म विस्थापन भएको देखिएको छ । इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनमा ‘सन् २०२६ अगस्ट २६ को केरुङ–रसुवा विपद् बुझाइ’ शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो ।

अध्ययनअनुसार लाङटाङ लिरुङको उत्तरी भिरबाट अनुमानित १३ करोड २० लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो । चट्टान, बरफ, पानी र गेग्र्यान मिसिएर तीव्र बहाव उत्पन्न हुँदा नेपाल–चीन सीमावर्ती क्षेत्रमा ठूलो विनाश भएको थियो ।

वैज्ञानिकहरूले उक्त घटनालाई परम्परागत हिमताल विस्फोटजन्य बाढीका रूपमा नभई चट्टान र हिमनदीको बरफ खस्दा उत्पन्न भएको शृङ्खलाबद्ध विपद्का रूपमा पहिचान गरेका छन् । अध्ययनमा भूउपग्रहका तस्बिर, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जलविज्ञानसम्बन्धी विश्लेषण र स्थलगत मूल्याङ्कनलाई एकीकृत गरी विपद्को कारण तथा प्रभावबारे अध्ययन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त विपद्मा नेपालतर्फ कम्तीमा एक हजार ४५१ जनाको मृत्यु भएको छ भने पाँच हजार ७४५ जना बेपत्ता छन् । चीनतर्फका अधिकारीले ४३ जनाको मृत्यु र ५१९ जना बेपत्ता भएको जानकारी दिएका थिए ।

अध्ययनले भूउपग्रहबाट पहाडको सतहमा हुने विस्थापन पहिचान गर्न सकिए पनि त्यसका आधारमा पहिरो वा चट्टान खस्ने घटना ठ्याक्कै कहिले हुन्छ भन्ने पूर्वानुमान गर्न नसकिने स्पष्ट पारेको छ । यद्यपि, यस्तो प्रविधिले जोखिमयुक्त पहाडी भिर पहिचान गरी थप निगरानी गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको भनाइ छ ।

अध्ययनअनुसार लाङटाङ लिरुङमा चट्टान र बरफ खस्ने घटना नेपाली समयअनुसार बिहान ८ः३७ बजे भएको थियो । त्यसबाट उत्पन्न गेग्र्यानसहितको बाढी करिब सात मिनेटमै सीमावर्ती क्षेत्रमा पुगेको थियो । तर, मोबाइल सन्देशमार्फत पूर्वसूचना बिहान ९ः१५ देखि ९ः१६ बजेतिर पठाइएको थियो । अर्थात्, सीमावर्ती क्षेत्र प्रभावित भइसकेको करिब २५ देखि ३० मिनेटपछि मात्र सन्देश पठाइएको अध्ययनमा उल्लेख छ ।

वर्षा र नदीको जलसतहमा आधारित विद्यमान पूर्वसूचना प्रणालीले अचानक हुने चट्टान पतन र हिमनदीसम्बन्धी घटनाको जोखिम समयमै पहिचान गर्न नसक्ने अध्ययनले औँल्याएको छ । त्यसैले भूउपग्रह निगरानी, भूकम्पीय अवलोकन, जलविज्ञानसम्बन्धी तथ्याङ्क, प्रभावमा आधारित पूर्वानुमान तथा नेपाल–चीनबीच सूचना आदानप्रदानलाई एकीकृत गर्न सुझाव दिइएको छ ।

चट्टान खस्नुका सम्भावित कारणमा भूगर्भीय कमजोरी, सन् २०१५ को भूकम्पबाट भएको क्षति, जमेको जमिन पग्लिनु, हिमनदीमा आएको परिवर्तन तथा हिउँ र बरफ क्रमशः जम्मा हुँदै जानु हुन सक्ने अध्ययनमा उल्लेख छ । यद्यपि, घटनाको एउटै निश्चित कारण भने पुष्टि भइसकेको छैन ।

यसअघि सन् २०२५ जुलाईमा पेरिपु क्षेत्रमा हिमनदीको सतहमा बनेको तालबाट पानी निस्किएर बाढी आएको थियो । त्यसको १३ महिनापछि सन् २०२६ अगस्टमा लाङटाङ लिरुङबाट चट्टान र बरफ खसेर सोही सीमावर्ती करिडोरमा अर्को विनाशकारी विपद् भएको थियो । यी घटनाले फरक प्रकृतिका दुई ठूला सीमापार विपद्को जोखिम देखाएको अध्ययनमा उल्लेख छ ।

बुढीगण्डकी जलाधार क्षेत्रमा पनि चट्टान र हिमनदी खस्ने छुट्टै घटना भएको भूउपग्रहका तस्बिरबाट पुष्टि भएको अध्ययनले जनाएको छ । उक्त घटनाको क्रम, प्रभाव र भविष्यमा जोखिम न्यूनीकरणका उपायबारे थप अध्ययन भइरहेको छ ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख च्याङगोङ झाङले भूउपग्रहबाट प्राप्त तथ्याङ्क र वैज्ञानिक विधिले विगतका विपद् बुझ्न तथा भविष्यमा जोखिमयुक्त हुन सक्ने क्षेत्र पहिचान गर्न सहयोग पुग्ने बताउनुभएको छ । इसिमोड र चीनस्थित साझेदार संस्थाको संयुक्त टोलीले विपद् प्रभावित क्षेत्रमा थप प्रमाण सङ्कलन गर्न स्थलगत अध्ययनसमेत सुरु गर्ने जनाइएको छ । यसबाट जोखिमयुक्त क्षेत्रको पहिचान, नियमित निगरानी र हिन्दूकुश हिमालय क्षेत्रमा पूर्वसूचना प्रणाली सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्