रेशमी मार्गको विरासत धान्दै मुस्ताङी च्याङ्ग्रा, किसानको पेसा सङ्कटमा



मुस्ताङ, असोज २८। प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको छ। कुनै समय हिमालपारि ऊन र नुनको कारोबार हुने मार्गको विरासत अहिले दसैँका बेला हिमाली च्याङ्ग्रा बजारमा झार्ने परम्पराले धानिरहेको छ। तर, परम्परागत पेसाका रूपमा रहेको च्याङ्ग्रापालनमा किसानको आकर्षण घट्दै जाँदा यो व्यवसाय चुनौतीमा परेको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङ्ग्रा व्यापारी निरज थकालीका अनुसार प्राचीन रेशमी मार्ग, मुस्ताङी च्याङ्ग्रा र पोखरा क्षेत्रको दसैँबीच हजारौँ वर्ष पुरानो सम्बन्ध छ। “रेशमी मार्गमा नुन र ऊनको व्यापार इतिहास बने पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बेच्न बजार झर्ने चलनले त्यसको विरासत धानेको छ,” उहाँले भन्नुभयो। मुक्तिनाथ आउने तीर्थयात्रीमार्फत मुस्ताङी च्याङ्ग्राको मासुको स्वाद देशभर फैलिएको उहाँको भनाइ छ।

मुस्ताङका लेकाली खर्कबाट सुरु हुने च्याङ्ग्राको यात्रा म्याग्दी, पर्वत, बागलुङ हुँदै चितवन, काठमाडौँ, पोखरा, बुटवल, स्याङ्जा र नुवाकोटलगायत देशका विभिन्न सहरसम्म पुग्छ। विगतमा वस्तु र संस्कृतिको आदानप्रदान हुने यस क्षेत्रको च्याङ्ग्रा व्यापारले अहिले पनि हिमाल र सहरबीचको सम्बन्धलाई जीवन्त राखेको नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउनुहुन्छ। उहाँका अनुसार ऊन र नुनको पुरानो व्यापार हराउँदै गए पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बजार झार्ने परम्पराले निरन्तरता पाएको छ।

हिमाली भेडाच्याङ्ग्राका बथान बजार झर्न थालेपछि सर्वसाधारणले दसैँ नजिकिएको महसुस गर्छन्। लोमान्थाङ गाउँपालिका–१ छोसेरका आङग्याल गुरुङ यस वर्ष दसैँका लागि ७०० च्याङ्ग्रा बिक्री गर्न बजार झर्नुभएको छ। पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिँदै किसानबाट च्याङ्ग्रा खरिद गर्ने र आफ्नै गोठमा पालिएका च्याङ्ग्रा बिक्री गर्न दसैँमा बजार आउने गरेको उहाँले बताउनुभयो।

उपल्लो मुस्ताङका किसानका लागि च्याङ्ग्रापालन परम्परागत पेसासँगै आम्दानीको प्रमुख स्रोत हो। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ तेताङका पेम्बा गुरुङ विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापारमा संलग्न हुनुहुन्छ। किसानबाट च्याङ्ग्रा खरिद गरेर दसैँका बेला बजारमा बिक्री गर्ने उहाँको व्यवसाय पुस्तौँदेखि चल्दै आएको छ।

नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष श्रेष्ठ पनि छ दशकदेखि यस व्यवसायमा आबद्ध हुनुहुन्छ। बुबाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका उहाँले यस वर्ष काठमाडौँ पठाउन एक हजार च्याङ्ग्रा मुस्ताङबाट सात दिन पैदल हिँडाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीसम्म ल्याउनुभएको छ। यस व्यवसायबाट उहाँले १६ जनालाई मौसमी रोजगारीसमेत दिनुभएको छ।

श्रेष्ठका अनुसार यस वर्ष काठमाडौँका लागि तीन हजार च्याङ्ग्रा लैजाने तयारी गरिएको छ। चीनसँगको कोरला नाका बन्द रहेकाले यसपालि बजारमा आउने च्याङ्ग्रा स्वदेशकै हुन्। एक महिनाअघि नै बुकीमा पुगेर नाम्ग्याल, छोसेर, यारा र घारालगायत क्षेत्रबाट च्याङ्ग्रा सङ्कलन गरिएको उहाँले बताउनुभयो।

हाल बजारमा एउटा च्याङ्ग्राको मूल्य ४० हजारदेखि ५० हजार रुपैयाँसम्म छ। विगतमा च्याङ्ग्राको मासु प्रतिकिलो एक हजार ३५० देखि एक हजार ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो। हिमाली बुकीमा पाइने जडीबुटी खाएर हुर्किने भएकाले च्याङ्ग्राको मासु पौष्टिक हुने मालिका गाउँपालिका–६ दरवाङका श्रीदत्त गौतमको भनाइ छ। व्यापारीका अनुसार पाँच वर्षसम्म पालिएका च्याङ्ग्राको मासु स्वादिलो हुन्छ। च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चापदार्थका रूपमा समेत प्रयोग गरिन्छ।

तर, च्याङ्ग्रापालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। छोसेरमा पहिले २५ वटा च्याङ्ग्राका गोठ रहेकामा अहिले पाँचवटा मात्रै बाँकी रहेको व्यापारी आङग्याल गुरुङले बताउनुभयो। हिउँचितुवाबाट च्याङ्ग्रा जोगाउनुपर्ने चुनौती, हिउँदमा चरन र आहाराको अभाव, गोठाला नपाइनु तथा युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुले परम्परागत व्यवसाय सङ्कटमा परेको स्थानीयको भनाइ छ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट १३ हजार ८१७ भेडाच्याङ्ग्रा निकासी भएका छन्। कार्यालय प्रमुख लालमणि अर्यालका अनुसार ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको हो। कार्यालयले स्वास्थ्य परीक्षणपछि स्वस्थ भेडाच्याङ्ग्रा मात्रै निकासी हुने व्यवस्था मिलाएको छ। गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए।

मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्। उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोतका रूपमा रहेको च्याङ्ग्रापालनले स्थानीय अर्थतन्त्रसँगै पुस्तौँदेखिको परम्परालाई जोगाइरहेको छ।

यस वर्ष बाढीपहिरोका कारण सडकमा क्षति पुगेपछि च्याङ्ग्रा बजारसम्म ल्याउन व्यापारीलाई कठिन भएको छ। च्याङ्ग्रा खरिद गर्न जाँदा सहज रहेको सडक फर्किने बेलासम्म बिग्रिएपछि कतिपय ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपरेको व्यापारीले बताएका छन्। बेनी–जोमसोम सडकको म्याग्दी खण्ड बाढीपहिरोले क्षतिग्रस्त हुँदा च्याङ्ग्रा ओसारपसार चुनौतीपूर्ण बनेको हो। सडक छिट्टै सञ्चालनमा आएकाले भने केही राहत मिलेको व्यवसायीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्