खगेन्द्र सुनार प्रकरणमा नयाँ मोड, अडियो आफ्नो नभएको महिलाको दाबी
काठमाडौँ,असोज २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको भनिएको अडियो प्रकरणमा आफूलाई पीडित भनिएकी महिलाले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेकी छन् । चर्चित टेलिभिजन कार्यक्रममा बोल्दै उनले आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै घटनाबारे खण्डन गरेकी हुन् ।
ती महिलाले सडकबाट राजनीतिमा आएका दलित सांसद सुनारलाई बदनाम गर्न आफूलाई माध्यम बनाइएको दाबी गरेकी छन् । उनले भाइरल भइरहेको अडियोको सत्यतथ्य पत्ता लगाउन फरेन्सिक परीक्षण गर्नसमेत चुनौती दिएकी छन् ।
आफू वास्तवमै पीडित भएको भए चुप लागेर नबस्ने र प्रहरीसमक्ष जाने बताउँदै उनले आफूविरुद्ध निराधार आरोप लगाएर बदनाम गर्न खोजिएको जिकिर गरेकी छन् ।
उनले यस्ता गतिविधि निरन्तर जारी रहे साइबर कानुनअन्तर्गत कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएकी छन् ।
महिलाको पछिल्लो दाबीपछि सुनारसँग जोडिएको भनिएको अडियो प्रकरणले नयाँ मोड लिएको छ । यद्यपि, अडियोको वास्तविकता र त्यसमा सुनिएको आवाज कसको हो भन्ने विषय स्वतन्त्र परीक्षणबाट पुष्टि हुन बाँकी छ ।

