चाडपर्वसँगै धरानको भानुचोकमा साँझपख बढ्यो चहलपहल
सुनसरी, असोज २८। चाडपर्व नजिकिएसँगै धरानको भानुचोकमा यात्रु, ग्राहक र साना व्यवसायीको चहलपहल बढेको छ। दिनभर विभिन्न जिल्लातर्फ जाने–आउने यात्रुले व्यस्त रहने चोक साँझपख मःम, चाउमिन, अण्डारोल र चियापसलका कारण थप रौनकपूर्ण बन्ने गरेको छ।
धरान–८ की अनिता राई विगत १० वर्षदेखि र धरान–१५ की निरा मगर नौ वर्षदेखि भानुचोकमा ठेलामा खाजा बेच्दै आउनुभएको छ। घरायसी कामसँगै साँझपख व्यापार गर्ने उहाँहरूका लागि यही व्यवसाय परिवारको खर्च र छोराछोरीको पढाइ धान्ने आधार बनेको छ। चाडपर्वका बेला ग्राहक बढ्दा आम्दानी पनि राम्रो हुने गरेको उहाँहरूको भनाइ छ।
साँझपख चिया गफ, खाजा र किनमेलका लागि सर्वसाधारणको भीड बढ्ने भानुचोकमा ट्राफिक व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको छ। मोटरसाइकल, ट्याम्पो र सफारीको आवतजावत तथा जथाभावी पार्किङले समस्या निम्त्याउने गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले चाडपर्वमा यात्रुको सुरक्षा र सवारी व्यवस्थापनलाई प्राथमिकता दिँदै निगरानी बढाएको जनाएको छ।
धरान–२ स्थित भानुचोक व्यापारिक केन्द्र मात्र नभई ऐतिहासिक महत्व बोकेको स्थान पनि हो। कवि भानुभक्त आचार्यको सालिकका कारण यस ठाउँको नाम भानुचोक रहन गएको स्थानीय बताउँछन्। विसं २०४८ मा निर्माण सम्पन्न घण्टाघरले पनि चोकको पहिचान स्थापित गर्न सहयोग पुर्याएको छ।
समयक्रमसँगै भानुचोकको स्वरूप र चहलपहल बढ्दै गएको छ। साँझपख ठेला तथा साना पसलमा हुने व्यापारले स्थानीय आर्थिक गतिविधि बढाउनुका साथै साना व्यवसायीको जीविकोपार्जनमा समेत सहयोग पुर्याएको सुनसरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष किसन मास्केले बताउनुभयो।

