दीपावलीमा केराका थाम बेचेर किसानलाई अतिरिक्त आम्दानी



धनुषा, कात्तिक २३ । मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण केराका थामको माग बढेसँगै किसानले राम्रो आम्दानी गर्न थालेका हुन् ।

धनुषा र महोत्तरीका किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा बिक्री गरेका छन् । व्यापारीसमेत केराका थाम खरिद गर्न किसानका घर तथा केराघारीमै पुग्न थालेपछि बिक्री गर्न सहज भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान सुशील सिंहका अनुसार यस वर्ष केराका थाम प्रतिगोटा २५० देखि ३०० रुपैयाँसम्म बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले लक्ष्मीपूजाका अवसरमा शनिबार र आइतबार मात्रै जनकपुरधाममा करिब आठदेखि नौ हजार केराका थाम बिक्री भएको जानकारी दिनुभयो ।

केराको झ्याङमा उत्पादन राम्रो लिन अतिरिक्त बोट हटाउनुपर्ने हुन्छ । सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने त्यस्ता बोट दीपावलीका बेला बिक्री हुँदा किसानलाई थप आम्दानी हुने गरेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतोले केराको झ्याङमा गाँजिएका बोट हटाउनुपर्ने भए पनि दीपावलीमा बिक्री हुने भएकाले पर्व पर्खने गरेको बताउनुभयो । उहाँले यस वर्ष एकै दिनमा १५ हजार रुपैयाँभन्दा बढी मूल्यका केराका थाम बिक्री गर्नुभएको छ ।

मिथिला परम्पराअनुसार लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा केराका थामबाट स्वागतद्वार बनाउने चलन छ । सामान्यतया दुईवटा थाम प्रयोग गरेर स्वागतद्वार बनाइने भए पनि कतिपयले चारवटा थाम प्रयोग गर्ने गरेका छन् ।

धनुषाको पकडियाका किसान रामनारायण सिंहका अनुसार यस वर्ष केराका थाम बिक्रीका लागि एक साताअघिदेखि नै बैना लिन थालिएको थियो । पर्वका दिन थामको अभाव हुनसक्ने र मूल्य बढ्नसक्ने भएकाले व्यापारीले केराघारीमै पुगेर खरिद गर्ने गरेका छन् ।

महोत्तरीको भङ्गाहा नगरपालिका–४ का व्यावसायिक केरा किसान सत्यनारायण यादवले यस वर्ष ३५ हजार रुपैयाँ बराबरका केराका थाम बिक्री गर्नुभएको छ । करिब एक बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएका उहाँका अनुसार राम्रो उत्पादन लिन एउटा झ्याङमा तीनभन्दा बढी बोट राख्नु उपयुक्त हुँदैन । अतिरिक्त बोट छाँट्नुपर्ने भएकाले दीपावलीका बेला बिक्री हुँदा किसानलाई फाइदा पुग्ने गरेको छ ।

धनुषाको जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार र वीरेन्द्रबजार तथा महोत्तरीको बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा र जलेश्वरलगायतका बजारमा केराका थामको कारोबार भएको छ ।

महोत्तरीको भङ्गाहा नगरपालिका–७ हतिसर्वाको झपौल बस्तीका किसान रामचन्द्र महराले चाडपर्वका बेला खर्चको जोहो गर्न केराका थामको बिक्रीले सहयोग पुगेको बताउनुभयो । व्यापारी घरमै आएर खरिद गर्दा बजारसम्म थाम पुर्‍याउने झन्झटसमेत हटेको उहाँको भनाइ छ ।

किसानका अनुसार दीपावलीका बेला एक जोडी केराका थाम ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् । बलवा नगरपालिकाको भगवतीपुरका किसान ललन महतोले १० कट्ठामा लगाएको केराखेतीबाट नयाँ कोथा बिक्री गरी १५ हजार रुपैयाँ आम्दानी गर्नुभएको छ ।

दीपावलीसँगै छठ पर्वमा पनि केराको घरी र कोथाको माग बढ्ने गरेको छ । छठमा केराको घरी प्रसादका रूपमा चढाउने धार्मिक परम्पराका कारण यसको बिक्री बढ्ने किसान बताउँछन् ।

नियमित बजारमा बिक्री नहुने केराका अतिरिक्त बोट र कोथा चाडपर्वका बेला राम्रो मूल्यमा बिक्री हुँदा किसानका लागि अतिरिक्त आम्दानीको स्रोत बनेका छन् । धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको केराको प्रयोगले मिथिलाञ्चलमा चाडपर्वको रौनक बढाउनुका साथै स्थानीय किसानको आयआर्जनमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्