विद्युत प्राधिकरणको नहरमा डुबेर नुवाकोटमा एक किशोरको मृत्यु



नुवाकोट ।नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर- ७ का एक किशोरको नदी तर्ने क्रममा विद्युत प्राधिकरणको नहरमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो ।
शङ्कर र उनका साथी बिहान घरबाट निस्किएका थिए । काफ्लेका अनुसार घटना विदुर–१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो ।

नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए । तामाङ उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत थिए । तामाङको शव नेपाली सेनाको नुवाकोटस्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करिब सात घण्टामा फेला पारेको प्रहरीको भनाइ छ ।

मृतकको परिवारले प्राधिकरणले लापरबाहीले नहर तारबार नगरी छाडेकाले घटना भएको भन्दै क्षतिपूर्तिको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्