हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन: अर्थमन्त्री डा. महत



काठमाडौं,पुस ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हेर्दा विदेशमा रमाइलो जस्तो देखिने तर त्यो सबैका लागि नहुने भएकाले स्वदेशमै डिजिटल प्लेटफर्ममा काम गर्न युवापुस्तालाई आव्हान गरेका छन् । सिआइएन युथ इन्टरपेनियर फोरम  नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा. महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताएका हुन् ।

‘झन्डै ४० प्रतिशत युवा यो क्षेत्रसँग जोडिएको कार्यक्रममा बताइयो । १२ कक्षापछि विदेश जाने चलन छ, तिनीहरुलाई रोक्नुपर्छ । हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन’ मन्त्री डा. महतले भने, ‘१२ कक्षापछि विदेश जाने परम्परालाई रोक्न यही प्लेटफर्ममार्फत् थाल्न अनुरोध गर्दछु ।’

डिजिटल प्लेटफर्मले बिजनेशलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिने भन्दै उनले जो उत्पादनमा लागेका छन्, उनीहरुले डिजिटल प्लेटफर्ममार्फत् बजारमा सजिलै पहुँच पुर्‍याउन सक्ने तथा न्यून खर्चमा आम्दानी बढाउन सक्ने बताए ।

‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरु सहज महसुस गर्छन् । सरकारले आईटी नीति बजेटमार्फत् व्यवहारिक कार्यान्वयनतर्फ लगिएको छ’ मन्त्री डा. महतले भने, ‘५० प्रतिशतभन्दा थोरै हामीले कर लगाउने व्यवस्था गरेका छौं । र, जसको व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि शुरूआत गर्न चाहन्छ, उनीहरुका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।’

राज्यले दिएको यो सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताए ।  महतका अनुसार यसले बिजनेश शुरू गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी दिदै मन्त्री डा. महतले भने, ‘नेपाली युवाहरुलाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सक्छ सरकार तयार छ ।’

नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले अहिले पनि ठूलो मात्रामा विदेश सफ्टवेयर निर्यात हुँने गरेको बताए । नेपालभित्रै पनि विभिन्न डमोस्टिक क्षेत्र विकसित हुँदै गएको भन्दै जसले विभिन्न क्षेत्रको विजनेश व्यवसाय सहज हुने, लागत घट्दै गएको र यसमा सरकारले सकेसम्म योगदान दिनुपर्ने बताए ।

उनले भने, ‘आईटी सेक्टरमा निर्यात बढिरहेको छ, आउँदा दिनमा अझ बढ्छ । यसको संस्थागत विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । युवा विदेश पलयानलाई रोक्न पनि आईटीलाई प्रवर्द्धन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्