के लकडाउन नै समस्याको अन्तिम उपाय हो त सरकार ?



बिश्वब्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (COVID -19) ले विश्व मानव जगतलाई नै आक्रान्त पारिरहेको वर्तमान परिप्रेक्ष्यमा नेपाल पनि यस भाइरसबाट प्रताडित छ। उक्त भाईरसबाट हुनसक्ने सम्भावित जोखिमहरुलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि सरकारसामु “के लकडाउन मात्र समस्या समधानको अन्तिम उपाय हो त सरकार” भनी प्रश्न गर्ने हो भने पक्कै पनि उत्तर आउन सक्छ “हामिले बुझेको यति मात्र हो त्यसैले हो भनेर “। तर लकडाउन मात्र सम्भावित जोखिम नियन्त्रण तथा न्यूनीकरण गर्ने अन्तिम उपाय हैन, यो त प्राथमिक उपाय चै पक्कै हो।

जनताको सामाजिक, आर्थिक, मनोबैज्ञानिक लगायत अन्य पक्षहरूमा परिरहेको आघातलाई कहिल्यै महसुस गर्न नसक्ने अजङ्गको सरकारबाट यो भन्दा बढी उत्तरको आशा पनि कसरी गर्नु र खै ? गत बर्षको चैत ११ गते देखि पटक पटक समय थप गर्दै मुलुकभर लकडाउन गरेको पनि ६८ दिन पुगि सकेको सन्दर्भमा सरकारले आगामी दिनहरुमा कसरी जनजीवन सहज बनाउने भनेर योजना बनाउनु पर्ने मा मात्र उसको ध्यान लकडाउन कति दिन थप्ने भन्नेमा मात्र सिमित हुनु अत्यन्तै दु:खद कुरा हो।
भनिन्छ जनताको सबैभन्दा नजिकको साथी अझ भनौं अभिभावक सरकार नै हो । उसले जनताको हरेक सुख-दु:खमा साथ दिन्छ, समस्यालाई मनन गर्छ अनि आशा र भरोसाको केन्द्र बन्दछ । तर त्यो भनाई सरकारले असत्य साबित गर्दैछ। सरकार त जनताको लागि क्षितिजनिर को ग्रह झै भएको छ। टाडाबाट हेर्दा आहा! कति राम्रो, नजिक हुन जति जति अग्लो डाँडा चडेर गयो त्यति टाडा भैदिन्छ कहिल्यै भेट नहुने जस्तै। लकडाउनको समय मात्र नथपी अन्य विकल्पको बारेमा पनि सोच्नुपर्ने थ्यो। तर त्यता सरकारको ध्यानै गएन । अर्को कुरा, महामारीबाट बच्न सरकार मात्र हैन हामी स्वयं जनता पनि धेरै सजक हुनै पर्दछ। त्यही सजक नभएकै कारण तराईका अधिकांस जिल्लाहरु कोरोनाले प्रभावित भएका छन।

आगामी निकास के त भन्ने सवालमा केही उपायहरु हेरौँ।

१) लामो समय देखि आम जनताहरु बन्दाबन्दिको मारमा परि घर भित्र नै आफुलाई संकुचित बनाउन बाध्य छन। यो बिचमा उनिहरुमा आर्थिक पक्षमा मात्र हैन सामाजिक अनि मनोबैज्ञानिक पक्षमा पनि गम्भीर आघात परिरहेको छ। आगामी मेरो दैनिकी के पहिलेको जस्तै सहज अवस्थामा जन्छ त भन्ने कुरामा सोचेर बस्न बिवश छन। कतै रोजगारी पो गुम्ने हो कि जस्ता याबत प्रश्नहरुले आफैंलाई घेरिरहेको छ। तसर्थ सरकारले जनतालाई उनिहरुको भबिस्यको बारेमा आश्वस्त पार्न सक्नुपर्दछ।

२) दैनिक ज्याला मजदुरि गर्दै जिबिको पार्जन गर्ने मजदुरहरुले कसरी छाक टारिरहेका होलान? सरकारी निकायबाट त्यही एक पटक बाँढेको ५ के. जि. चामल अनि थोरै नुन तेलले ६८ दिनसम्म खान पुग्छ होला त सरकार ? सोच्नुपर्दैन ?

३) दैनिक यातायात ब्यवसाय गर्दै जिबिकोपार्जन गरिरहेका लाखौं ब्यवसायी अनि त्यो ब्यवसायमा आबद्ध लाखौं श्रमिकहरुको हबिगत कस्तो भयो होला सरकार ? भलै बजेटमा ती ब्यवसाय गर्नेहरुलाई भनेर सहुलियत पुर्ण कर्जा दिने भनेर सम्बोधन त गरेको छ तर त्यो पछिको कुरा भयो अहिले तत्कालको समस्या लाई पनि त सम्बोधन गर्नुपर्ने हैन र ?

४) के किराना, तरकारी, अनि औसधि ब्यवसाय मात्र ब्यवसाय हो र ? अन्य ब्यवसायलाई पनि समय सिमा तोकेर, नीति नियममा बाँधेर सञ्चालन गराउन तर्फ सरकारले चाँडै ध्यान दिनुपर्छ।

५) सरकारले आगामी बजेटमा ८ खर्ब भन्दा बढी राजस्व संकलन गर्ने महत्त्वकांक्षि लक्ष्य राखेको छ। अनि सरकार त्यो राजस्व कहाँबाट उठाउने जबकी उद्योगधन्दा, कलकारखाना अनि ब्यवसाय नै ठप्प बनाईरहने हो भने ?

७) सरकारले परिक्षेणको दर अनि दायरा दुबै फराकिलो बनाउन ढिला गर्न भएन। त्यस्तै, कतिपय कोरोना प्रभाबितहरु नै क्वारेन्टाइनमा नबसी भागेका छन। त्यस कुरालाई मध्यनजर गरि सम्पुर्ण क्वारेन्टाइन बिश्व स्वास्थ संगठन (WHO) को मान्याता अनुरुपको बनाउन तर्फ सरकारले तुरुन्तै ध्यान दिनुपर्दछ।

६) हामी जनता पनि सजग चैँ हुनैपर्छ। कामै नभै बाहिर निस्कने, त्यो त मेरो साथी हो केही हुँदैन भन्दै नजिक जाने, पहुँचको आधारमा पासको दुरुपयोग गर्ने, सरकारी नियमको पालना नगर्ने जस्ता हाम्रा पनि धेरै कमिकमजोरी छन। याद गरौं कोरोनाले सानो-ठूलो, धनी-गरिब भनी भेदभाव गर्दैन उसले कसैलाई पनि चिन्दैन पनि। त्यसैले सबैभन्दा पहिला हामी जनता सजग बनौँ।

८) अब सरकारले लकडाउन मात्र थप्ने हैन कि बिस्तारै खुकुलो बनाउदै लैजान पर्छ। सबै जिल्ला हरुलाई एउटै समुहमा राख्न भएन। जिल्लाहरुलाई प्रभावको आधारमा समूह-समूह बनाउन पर्छ। जस्तैः

क) अनि प्रभावित क्षेत्र : यस प्रकारको क्षेत्रमा प्रकोपको दर उच्च हुने हुनाले प्रत्येक एक स्थानीय निकायबाट अर्को स्थानीय निकायमा हुने आवत-जावत बन्द गराउने। रोगलाई थप फैलन नदिनको लागि परिक्षणको दर र दायरालाई तिब्र रुपमा वृद्धि गर्ने। जनतालाई रोग शोक र भोगबाट बचाउने सरकारको प्रमुख दायित्व भएको हुनाले सरकारले प्रभाबकारी भुमिका निर्बाह गर्नुपर्दछ। जनता पनि सु-सुचित हुनु जरुरी छ।

ख) प्रभावित क्षेत्र : यश प्रकारको क्षेत्र प्रकोप हिसाबले समान्य रहने तर जनता सम्यमित नभएको खण्डमा प्रकोप फैलने सम्भावना प्रबल हुने हुनाले सबैजना सजक हुनुपर्दछ। एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावत बन्द गरि सरकारले यस्तो क्षेत्रमा उद्योगधन्दा, कलकारखाना, बैंक तथा बित्तीय संस्था, सहकारी संस्था लगायतका मानिसहरु भिडभाड हुने सार्बजनिक यातायात, चलचित्र भवन, स्कुल, कलेज बाहेक सामाजिक दुरि कायम गर्न लगाई निस्चित समय तोकि सञ्चालन अनुमती दिनुपर्दछ। साथै नियम पालना गराउन सुरक्षा निकायको सरकारले परिचालन गर्नसक्दछ।

ग) सामान्य क्षेत्र : यस प्रकारका क्षेत्रहरु प्रकोपको हिसाबले प्रभावबिहिन हुने हुनाले धेरै मानिसको जमघट हुन नदिई पुर्ण रुपमा लकडाउन खुल्ला गर्दा हुन्छ। तर प्रभावित जिलाहरुबाट हुनसक्ने सम्भाबित आवगमनलाई पुर्ण रुपमा बन्द गर्नुपर्दछ।

बर्षातको समय सुरु भइसकेको हुनाले सरकारले किसानहरुलाई कृषि कार्य गर्न समन्वयकारी भुमिका निर्बाह गर्नुपर्दछ। बर्षातको समय सुरु भइसकेको हुनाले सरकारले किसानहरुलाई कृषि कार्य गर्न समन्वयकारी भुमिका निर्बाह गर्नुपर्दछ। जनताको आर्थिक पक्ष मात्र हैन सामाजिक मनोबैज्ञानिक पक्षमा पनि उचित ध्यान दिई मेरो सरकार हो भनी गर्बले सरकारको तरिफ गर्न सक्ने वातावरणको सिर्जना गर्न सरकारलाई अनुरोध गर्दै तपाई हामी पनि आ-आफ्नो ठाउँबाट सजक बनौ। हामी सबै मिलि कोरोना सधैंको लागि बिश्वबाट नै भगाउँ।

(लेखक खतिवडा अर्थशास्त्र बिषयका प्राध्यापक तथा विज्ञ हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस्