डम्फु–सेलो लोपोन्मुख: तामाङ संस्कृतिको मौलिक पहिचान संकटमा
सिन्धुपाल्चोक,बैशाख २३ — तामाङ समुदायको पहिचानसँग गहिरो रूपमा जोडिएका डम्फु र सेलो संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन्। जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारमा प्रयोग हुने यी मौलिक बाजा र भाकाहरू नयाँ पुस्तामा घट्दो रुचिका कारण क्रमशः हराउँदै गएका हुन्।
पछिल्लो समय आधुनिक गीत–संगीतप्रतिको बढ्दो आकर्षणले परम्परागत सेलो, खान्दोके र फापरेजस्ता भाकाहरू ओझेलमा पर्दै गएका छन्। पहिले गाउँघरमा पर्व, जात्रा, ल्होसार, विवाह तथा व्रतबन्धमा डम्फुको तालसँगै सेलो गुञ्जिने गर्थ्यो, तर अहिले त्यस्ता दृश्य विरलै देख्न पाइन्छ।
कोइराला काठको घेरामा घोरलको छाला तन्काएर ३२ वटा किला ठोकी बनाइने डम्फुको मधुर धुनसँगै गाइने सेलो भाकाहरूले तामाङ समुदायको सुख–दुःख अभिव्यक्त गर्ने माध्यमका रूपमा काम गर्दै आएको छ। तर, पुस्तान्तरणको अभावले यो परम्परा कमजोर बन्दै गएको स्थानीयहरू बताउँछन्।
२०७८ सालको जनगणनाअनुसार नेपालमा तामाङ समुदायको जनसंख्या करिब ५ दशमलव ८ प्रतिशत रहेको छ। यस समुदायले डम्फु र सेलोलाई बुद्ध तथा बोधिसत्वको प्रतीकका रूपमा मान्ने गर्छन्, जहाँ डम्फुका ३२ किलाले बुद्धका ३२ लक्षणलाई प्रतिनिधित्व गर्ने विश्वास छ।
परम्परागत ज्ञान र अभ्यासप्रति नयाँ पुस्तामा घट्दो चासोका कारण यो मौलिक सांस्कृतिक सम्पदा संकटमा परेको सरोकारवालाहरू बताउँछन्। तामाङ समुदायको इतिहास, भावना र जीवनशैलीसँग जोडिएको डम्फु–सेलो जोगाउन समयमै संरक्षण र पुस्तान्तरण आवश्यक देखिएको छ।

