कोरोनाका कारण एकैदिन ५ जनाको मृत्यु, मृतकको संख्या ६३ पुग्यो



काठमाडौं साउन २१

कोरोना भाइरसका कारण बुधबार एकै दिन देशभर पाँच जनाको मृत्यु भएको छ।

काठमाडौंमा एक जना तथा विरगन्ज र विराटनगरमा दुईरदुई जनाको मृत्यु भएको हो। विराटनगरमा मृत्यु भएका ४५ वर्षीय दुई पुरुषको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।

उनीहरुको रिपोर्ट नआउँदै ज्यान गएको हो। बुधबार वीरगन्जमा १८ वर्षीया युवती र ४८ वर्षीय पुरुषको निधन भएको थियो।

बान्ता लागेपछि सोमबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो। यसैगरी कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार मात्र अस्पताल भर्ना भएका ४८ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो।

बुधबार साँझ काठमाडौंको बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। सर्लाहीको मलंगवा घर भएकी ६५ वर्षीया ती महिला सुरुमा मनमोहन अस्पतालमा भर्ना भएपनि कोरोना संक्रमण पुष्टी भएपछि साउन १९ गते शसस्त्र प्रहरी अस्पतालमा उनलाई लगिएको थियो।

हालसम्म कोरोना भाइरसका कारण नेपालमा ६३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्