मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको ज्यान गयो, आमा–छोरा सिकिस्त



कैलाली,बैशाख ५ । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३ भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जना सहोदर दाजुभाइ रहेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो। उनका अनुसार बिहीबार मरेको कुखुराको मासु खाएपछि उनीहरू बिरामी परेका थिए।

घटनामा बालकहरूको आमा २८ वर्षीया राधिका ताम्राकार र कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकार पनि सिकिस्त बिरामी परेका छन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना बिहीबार भए पनि प्रहरीलाई भने शुक्रबार मात्र जानकारी दिइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो।

प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको छ। फार्म सञ्चालक मंगल साउँद इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएका छन्। उनलाई आवश्यक परेका बेला उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्