आजदेखि जोर बिजोर, रातिमा सवारी आवागमन बन्द



काठमाडौँ, साउन २२।  सरकारले काठमाडौँसहित दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर बिजोर प्रणाली अन्तर्गत सवारीसाधन सञ्चालन ल्याएको छ भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरेको छ । कोरोनाको संक्रमणको तीव्रतासंगै सरकारले बिहिवारदेखि लागु हुने गरि रातिमा सवारी आवागमन बन्द गरेको हो ।

मुलुकभर बन्दाबन्दी खुकुलो भएसँगै कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले बिहिवारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोरोना भाइरसको २ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाका अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरी व्यवस्थालाई थप कडाईका साथ लागू गर्ने निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जविरवाना गर्ने र जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला हुनेजस्ता कार्य निषेध गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै कोभिड–१९ को सङ्क्रमणको जोखिमको अवस्था हेरेर  जोखिम बढेको क्षेत्रलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, आवश्यक खण्डमा थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले उल्लेख गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्