आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौँ,कात्तिक २४ । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ । पहिलो संस्करणको विजेता जनकपुर र दुई पटक उपविजेता बनेको सुदूरपश्चिम आज जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।
पाँच खेल खेलेको सुदूरपश्चिमले तीन जित र दुई हार बेहोर्दै ६ अङ्क जोडेको छ । ऊ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । प्लेअफमा आफ्नो स्थान बलियो बनाउने लक्ष्यसहित सुदूरपश्चिम आजको खेल जित्न चाहन्छ ।
यता, जनकपुर बोल्ट्स पनि जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा छ । पाँच खेलमा दुई जित र तीन हार बेहोरेको जनकपुर चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । जनकपुरका लागि आजको खेल प्लेअफ सम्भावना कायम राख्न महत्वपूर्ण हुनेछ ।
एनपिएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

