प्रधानमन्त्रीसहित सचिवालय टिमका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं, साउन २२ । कोरोना संक्रमित प्रदेश २ आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवको कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली लगायतको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

साउन १७ गते बालुवाटारमा भएको प्रहरी समायोजनसम्बन्धी बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, सातै प्रदेशका कानुन मन्त्रीहरूलगायत उपस्थित थिए।

उक्त बैठक सकेपछि साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएका थिए। त्यही क्रममा उनले जनकपुरमा कोरोना परीक्षण गराएका थिए। परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

उनमा कोरोना पोजेटिभ देखिएपछि प्रदेश २ का मन्त्री यादवसँग ‘क्लोज कन्ट्याक्ट’ मा आएका ओलीको सचिवालयका टिमका सदस्यहरूको समेत पिसिआर परीक्षण गरिएको थियो।

परीक्षण गराउँदा कोरोना रिपोर्ट नेगेटिभ आएको हो। यस्तै

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित उनका परिवारका सबै सदस्यको कोरोना नेगेटिभ देखिएको छ।

एक निजी प्रयोगशालामा गरिएको परीक्षणमा दाहालसहित उनका परिवारका सबै सदस्यको नेगेटिभ देखिएको हो। आजै दाहालका निवासमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

प्रचण्ड सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।

प्रचण्डसहित उनका परिवार, सचिवालयका कर्मचारी र सुरक्षाकर्मी गरी ५३ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ६ जना सुरक्षाकर्मीको नतिजा पोजेटिभ देखिएको हो।

प्रतिक्रिया दिनुहोस्