संक्रमित नै सम्पर्क बाहिर



काठमाडौं,साउन २३ । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेका छन् ।यसबाट संक्रमणको जोखिम झन बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन ।

सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले बताए। इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘केही संक्रमितलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ छ । सम्पर्क गर्न खोज्दा केहीको गलत नम्बर रहेछ । संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका छौं ।’

संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण रोकथाममा स्वयं व्यक्ति नै सचेत र सजग हुनुपर्ने बताए । उनले भने, ‘सबैभन्दा मुख्य कुरा आत्मानुशासन हो । र, जनस्वास्थ्यका न्यूनतम मापदण्ड सबैले पूर्ण रूपमा पालना गर्नुपर्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाबको नतिजा नआउँदासम्म होम क्वारेन्टिनमै बस्न आग्रह गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘स्वाब संकलन गरिसकेपछि नतिजा नआउँदासम्म होम क्वारेन्टिनमै बस्नुस् । नत्र झन् जोखिम बढ्न सक्छ ।’

लकडाउन खुलेयता हालसम्म ३ हजार ९ सय ५ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो चौबिस घण्टामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना गरी कुल ८७ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ ।

बिहीबार २ सय ३३ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ६४ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो समय संक्रमितमा श्वासप्रश्वासमा गाह्रो हुने, झाडापखाला, ज्वरोलगायतका लक्षण देखिन थालेको चिकित्सकहरू बताउँछन् । हालसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा बस्दै आएका छन् ।

यो समाचार प्रशान्त वलीले राजधानी दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्