काठमाडौं उपत्यकामा १५ दिनका लागि ‘सट डाउन’



काठमाडौं,साउन २३ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यकामा जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि ‘सट डाउन’ हुने भएको छ । आउदो आइतबारदेखि लागु हुनेगरी सट डाउन हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

कोरोना संक्रमण तिव्र गतिमा फैलिएको भन्दै शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठक बसेको थियो। उक्त बैठकले १५ दिनसम्म ‘सट डाउन’ गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको स्वीकृतिबाट केही विशेष कामबाहेकका सबै सेवा बन्द हुने बताइएको छ । सो सट डाउन अवधिमा जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले जानकारी दिए ।

बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने र स्थानीय तहलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि गरेको दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्