लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण



काठमाडौं,साउन २४ । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समय अमेरिकामा बस्दै आएका लोकगायक महत दम्पतीलाई कोरोना संक्रमण देखिएको महत स्वयंले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै जानकारी गराएका हुन्।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत रहेका लोकगायक महतले समुदायका सम्पूर्ण दिदीबैनी दाजुभाइ तथा इष्टमित्रहरूमा हार्दिक अपिलसहित उनले फेसबुकमा लेखेका छन्, ‘यदि हामीले समयमै सतर्कता अपनाएनौं भने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउने वाला छैन। ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान\श्रीमति पनि यसबाट बच्न सकेनौँ।’

कोरोना संक्रमण पुष्टिसंगै उनीहरु आफ्नै घरको एक\एक कोठामा आइसोलेसनमा बसेका छन् भने छोरा डा.सरगम महतको निरीक्षण र निगरानीमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्