सांसद रेशम चौधरीलाई रिहा गर्न थरुहट थारुवानको तीन महिने अल्टिमेटम



कैलाली साउन २४ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाले कोरोना महामारीकै बीच आन्दोलन गर्ने भएको छ ।

आन्दोलनका कार्यक्रमलाई सशक्त पार्ने मोर्चाको दाबी छ। मोर्चाले भोलिदेखि आन्दोलनका कार्यक्रम अघि बढाउने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजक लक्ष्मण थारुले कोरोनाकै कारण कुनै पनि कार्यक्रम अब नरोकिने प्रष्ट पारे। उनले कोरोना आफूहरुको आन्दोलनमा बाधक नहुने पनि बताए।

थारुहरुले थालेको न्यायिक आन्दोलनलाई सरकारले नजरअन्दाज गरेको भन्दै उनले अबको आन्दोलन सशक्त पार्ने बताए। मोर्चाले टीकापुर घटनामा मुछिएर जेल जीवन भोगिरहेका सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

मोर्चाले ३ महिनाभित्र जेलबन्दीलाई रिहाइ नगरिए प्रधानमन्त्री र बहालवाला मन्त्रीहरूलाई थरुहट क्षेत्रमा प्रवेश निषेध गर्ने चेतावनी पनि दिएको छ।

मोर्चाको आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २५ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २ गते मानव अधिकार तथा नागरिक अगुवासँग धनगढीमा अन्तर्क्रिया गर्ने, भदौ ७ गते टीकापुर घटना भएको दिनलाई टीकापुर थरुहट विद्रोह दिनको रुपमा स्मरण गर्दै देशव्यापी विरोधसभा गर्ने लगायत छन्।

त्यस्तै भदौ ८ गते टीकापुरमा भएको घर, पसल, व्यावसायिक केन्द्र, सञ्चार गृहमा भएको आगजनी, तोडफोड, लुटपाट भएको घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने मोर्चाले जनाएको छ।

२०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो। घटनामा १ नाबालकसहित ८ जनाको ज्यान गएको थियो। त्यसको भोलिपल्ट भदौ ८ गते टीकापुरमा रहेका थारु समुदायका घर, पसल तथा एफएममा तोडफोड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्