विश्‍व आदिवासी दिवस : साझा दायित्वबोधका साथ एकताबद्ध हुन मुख्यमन्त्री गुरुङको आग्रह



काठमाडौं साउन २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताएका छन् ।

मुख्मन्त्री गुरुङले २६औँ विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना दिँदै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।

बन्दाबन्दी हटे पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९४ मा आदिवासी जनजातिका आधारभूत मानवाधिकार संरक्षण र संवद्र्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मागलाई उठान गर्ने दिनका रूपमा प्रत्येक वर्ष अगष्ट ९ का दिन यस दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं राष्ट्रसंघीय आदिवासी स्थायी मञ्‍चका पूर्व उपाध्यक्ष परशुराम तामाङले नेपाली आदिवासी जनजातिहरुले भोग्नुपरेको समस्याहरु समाधान गर्नका लागि सम्पूर्ण नेपालीहरुलाई एकजुट हुने आग्रह गरेका छन् । सामाजिक सञ्‍जालमा आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश पोस्ट गर्दै उनले बिश्वका आदिवासीहरुको एकतामा समेत जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्