सिन्धुपाल्चोकमा भेटियो दुई शिक्षकमा कोरोना संक्रमण



चौतारा ,साउन २५ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कार्यरत दुइ शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टिसंगै जुगल गाउँपालिकाको कार्यालय समेत आइतबारदेखि बन्द भएको छ । सल्यान जिल्लाबाट साउन १७ गते सिन्धुपाल्चोकको जुगल-५ स्थित सेती देवी माध्यमिक विद्यालय र रत्न राज्य माध्यमिक विद्यालयका दुई शिक्षक सिन्धुपाल्चोक आइपुगेका थिए। कोरोना संक्रमण पुष्टिसंगै गाउँपालिका कार्यालय र वडानम्बर ५ का कार्यालय समेत बन्द गरिएको हो । ५ नम्बर वडामा नै गाउँपालिका कार्यलय रहेकाले गाउँपालिका कार्यलय पनि बन्द गरिएको छ ।

सरकारको निर्णय अनुसार भदौ १ गते बाट भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ बाट विद्यालयमा पठनपाठन सञ्चालन गर्ने तयारी अनुरुप शिक्षकहरु जुगल आइपुगेका थिए । उनीहरु सल्यानबाट आउँदा थानकोटमा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल ५ का वडाध्यक्ष सनत अधिकारीले बताए ।

उनीहरु सिन्धुपाल्चोक आएको ६ र ७ दिनपछि दुवै जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस बीचमा उनीहरुले धेरै मानिससँग भेटघाट गरेको पाइएको छ । उनिहरुले विद्यालयका अन्य शिक्षकसँग भेटघाट गर्नुका साथै खाजा,खाना खाने होटल र एक पास्नीमा समेत संलग्न भएको जानकारी आएको अधिकारीले बताए । त्यस्तै सिन्धुपाल्चोक आउँदा पनि उनीहरुले ४ वटा बस प्रयोग गरेको देखिन्छ ।

‘स्थायी घरदेखी हालसम्म डेढसय मानिससँग उनीहरुको सम्पर्क भएको देखिएको छ’वडाध्यक्ष अधिकारीले भने-‘अहिले गाउँले सबैलाई घरबाट ननिस्कन भनिएको छ ।’ वडाका ढाडे, बराम्ची, चनौटे, साप्ले, घ्यादुङ क्षेत्रलाई जोखिम क्षेत्र कायम गरिएको छ ।

शिक्षकहरुमा कोरोना देखिएपछि गाउँ नै त्रसित भएको छ । संक्रमित दुई शिक्षकमध्ये एक जना टेकु प्रयोगशालामा उपचाररत छन् भने, एकजना जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्