राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई सर्टिफिकेटसहित अदालतमा उपस्थित हुन आदेश



काठमाडौं साउन २५ ।

सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

गिरीको नियुक्ति खारेजीको माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सर्टिफिकेटसहित भदौ २ गते अदालतमा उपस्थित हुन आदेश गरेको हो । उपाध्यक्ष हुन गिरीको योग्यता नपुगेको भन्दै नरेश भट्टले दायर गरेको रिटमाथी आइतवार सुनुवाई गर्दै सर्वोच्चका न्यायधीश हरिकृष्ण कार्कीले कारण देखाउ आदेश जारी गरेका हुन् ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गिरीलाई अन्तरिम आदेशका लागि सर्टिफिकेटसहित भदौ २ गते अदालतमा उपस्थित हुन आदेश भएको जानकारी दिए। भट्टले दायर गरेको रिट यसअघि सर्वोच्चका मुख्य रजिष्ट्रारले असार ९ गते दरपिठ गरेका थिए ।

यसअघि असारमै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उक्त निवेदन दरपिठ गर्नुको आधार र कारण पेश गर्न आदेश गरेको थियो । आयोगको उपाध्यक्ष बन्न २० वर्षको अनुभव आवश्यक पर्ने भनिएकोमा गिरीको योग्यता नपुगेको भन्दै रिट निवेदनमा नियुक्ति खारेजको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्