डिस्चार्जभन्दा संक्रमित धेरै



काठमाडौं,साउन २६ । कोरोना भाइरस संक्रमणदर ह्वात्तै वृद्धि भएको छ। यो दर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गइरहेको देखिन्छ। बितेको एक साताको तथ्यांक हेर्दा २ हजार ६ सय ४० संक्रमित थपिएका छन् भने डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ५० रहेको छ । पछिल्लो एक सातामा ५२ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६ सय ४० संक्रमित थपिएका हुन् ।

जस अन्तर्गत गत सोमबार ४ सय १८ जना, मंगलबार २ सय ५९ जना, बुधबार ३ सय ८१ जना, बिहीबार ३ सय ६० जना, शुक्रबार ४ सय ६४ जना, शनिबार ३ सय ७८ जना र हिजो आइतबार ३ सय ८० संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । संक्रमितमध्ये हालसम्म १६ हजार ३ सय ५३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । हाल देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा बसेका छन् । संक्रमितमध्ये हालसम्म ७५ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार ३ सय ५८, मंगलबार ६५, बुधबार १ सय ३० जना डिस्चार्ज भएका थिए । यस्तै, गत बिहीबार २ सय ३३, शुक्रबार ४ सय २५, शनिबार ४ सय ९९ र आइतबार ४० जना डिस्चार्ज भएका छन् । पर्सा, कास्की, काठमाडौं मोरङलगायतका जिल्ला संक्रमणको दृष्टिकोणले थप जोखिममा छन् ।

यस्तै, आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार काठमाडौंमा ९० र ललितपुरमा २ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ हजार ६ सय ३६ पुगेको छ । काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन् ।

यसैबीच, कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै २३ दिनदेखि आमरण अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ता ईःले २३औं दिन आइतबार अनशन तोडेका छन् ।

कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने १३ बुँदे लिखित सम्झौता भएपछि उनले अनशन तोडेका हुन् । सम्झौतापत्रमा परीक्षणदर तीव्र रूपमा अघि बढाइने, पिसिआर परीक्षणको नतिजा यथाशीघ्र उपलब्ध गराउने, स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउनेलगायतका विषय उल्लेख छ । 

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्