वाग्मती सरकारले विपद्का लागि ९ पालिकालाई १ करोड ८० लाख दिने, नुवाकोटको बेलकोटगढीलाई २० लाख



साझा पथ संवाददाता
मकवानपुर साउन २६ । वाग्मती प्रदेश सरकारले अविरल वर्षाका कारण आएको बाढी, पहिरोबाट पीडित बनेका नागरिकको उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि विभिन्‍न पालिकालाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको वाग्मती प्रदेश विपद व्यवस्थापन निर्देशक समिति बैठकले नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र धादिङका गरी ९ पालिकाहरुलाई राहत दिने निर्णय गरेको हो ।

विपद्‍ व्यवस्थापनको समेत जिम्मेवारी सम्हालिरहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत पेशलकुमार पोखरेलले धादिङका ३ गाउँपालिका, दोलखाका ३ गाउँपालिका, सिन्धुपाल्चोकका एक नगरपालिका र १ गाउँपालिका तथा नुवाकोटको १ नगरपालिकालाई १ करोड ८० लाख राहत सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

निर्देश समितिले अविरल वर्षाका कारण आएको बाढी पहिरोले विपदमा परेकालाई नागरिकलाई उद्धार, राहत पुनर्स्थापना लगायतका लागि प्रदेश विपद व्यवस्थापन ऐन २०७५ र प्रदेश विपद व्यवस्थापन कोष सञ्‍चानलन कार्यविधि २०७५ बमोजिम खर्च गर्ने राहत उपलब्ध गर्ने निर्णय भएको शाखा अधिकृत पोखरेलले प्रस्ट पारे । उनका अनुसार राहत रकम प्रदेश विपद कोषबाट दिइएको हो ।

कुन जिल्लाका कुन पालिकालाई कति लाख ?

धादिङ

  • बेनिघाट रोराङ गाउँपालिका रु ३० लाख
  • सिद्दलेक गाउँपालिका रु २० लाख
  • गजुरी गाउँपालिका रू २० लाख

नुवाकोट

  • बेलकोटगढी नगरपालिका रू २० लाख

सिन्धुपाल्चोक

  • पाँचपोखरी थाङपाल गाउँपालिका रू १५ लाख
  • बाह्रबिसे नगरपालिका रू १५ लाख ।

दोलखा

  • गौरीशंकर गाउँपालिका रू ३० लाख
  • कालिञ्चोक गाउँपालिका रू १५ लाख
  • बिगु गाउँपालिका रू १५ लाख ।

यसअघि पनि बाढी, पहिरो प्रभावित सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकालाई ३० लाख, भोटेकोसी गाउँपालिकालाई १५ र जुगल गाउँपालिकालाई १० लाख रुपैयाँ प्रदेश विपद कोषबाट उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्