संक्रमित फेला परेपछि काठमाडौंको अध्यागमन विभाग बन्द, कोटेश्‍वरमा १७ जनामा संक्रमण



काठमाडौं साउन २६ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौंका विभिन्न स्थान सिल गर्न थालिएको छ ।

अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजिटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भए पनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ । उनका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । त्यसमा एक जनाको पोजिटिभ आएको हो ।

यसैबीच काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको असर्फी टोलमा कोरोना संक्रमित बढेपछि टोल नै सिल गरिएको छ।

साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो । आइतबार १३ जनामा कोरोना भेटिएको वडा सदस्य हिरादेवी पोखरेल जानकारी दिइन् । उनका अनुसार संक्रमितमध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ । अन्य तीन जनालाई भने घरमै आइसोलसनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्