नुवाकोटमा कोरोना संक्रमित ६१ पुगे, हालसम्म ४० जना डिस्चार्ज



नुवाकोट साउन २६ । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ६१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा ३ र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा १ जनामा संक्रमण पुष्टि भएसँगै नुवाकोटमा संक्रमितको संख्या ६१ पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जिल्लाका विभिन्न पालिकामा ६१ संक्रमित फेला परिसकेको जानकारी दिए । उनका अनुसार हालसम्म ४० जनाले कोरोनालाई पराजित गराएर घर फर्किएका छन् ।

बाँकी २१ जना भने नुवाकोट र काठमाडौंका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । खनालका अनुसार नुवाकोटकै त्रिशूली अस्पतालमा १३ जना, खरानीटारको आइसोलेसन ४ जना र काठमाडौंका विभिन्न अस्पतालका आइसोलेसनमा ४ उपचाररत छन् ।

नुवाकोटमा पनि संक्रमित बढ्न थालेपछि साउन २४ गते मध्यरातिदेखि १० दिनसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्